राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार चयनको प्रक्रिया थालेको छ।
त्यसबारे छलफल गर्न बुधबार साँझ केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक राखिएको गणेश पराजुलीले जानकारी दिए।
रास्वपाले यसअघि विपीनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो।
तर सहकारी ठगी प्रकरणमा रास्वपाका सहमहामन्त्रीसमेत रहेका आचार्यसमेत तानिने सम्भावना रहेकाले केन्द्रीय समितिले पराजुलीलाई निर्वाचन समन्वयको जिम्मा दिएको थियो।
‘हामीले सम्भव भएसम्म निर्वाचन हुन लागेका सबै पदमा उम्मेदवारी दिन्छौं। त्यसका लागि बुधबार साँझ जुम बैठक बोलाएका छौं। निर्वाचन हुन लागेको ठाउँमा पार्टीको अवस्था, सम्भावित उम्मेदवारहरूबारे छलफल गर्छौं,’ पराजुलीले जानकारी दिए।
उनले एकभन्दा बढी आकांक्षी देखिएमा प्राइमरी इलेक्सनमार्फत् टुंग्याइने पनि बताए।