काठमाडौं । सडक दुर्घटनामा मृत्यु भएका युवाका आफन्त र स्थानीयले नेपालगन्जको भेरी अस्पतालअगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन्।
नेपालगन्जको बसपार्कस्थित बाइपासरोडमा आइतबार साँझ भे ६ प ८०२ र भे ३ प ७१७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेपालगन्जका २६ वर्षीय अमन कसौधन (गुप्ता)को मृत्यु भएको थियो भने नेपालगन्जकै एहसान शेष घाइते भएका थिए।
घाइते शेष भेरी अस्पतालबाट सम्पर्कविहीन भएपछि मृतकका आफन्त र स्थानीयले तत्काल समात्न माग राख्दै टायर बालेर सडक अवरुद्ध गरेका हुन्।
घाइते शेष भेरी अस्पताल पुगेका थिए। चिकित्सकले सिटी स्क्यान गर्न पठाएका थिए। सिटी स्क्यान गर्न बाहिर निस्केका शेष सम्पर्कविहीन भएका थिए। केहीले उनी भारतमा उपचार गर्न गएको बताएका छन्।
बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले शेषलाई खोजेर ल्याउने प्रतिबद्धता गरेपछि टायर बाल्न बन्द गरिएको छ। पीडित पक्षले शेषलाई नल्याउँदासम्म आन्दोलन जारी रहने बताएका छन्।