काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सहकारी ठगी प्रकरणमा ९ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार बोल्दै रास्वापा सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो भनेकी हुन् ।
‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध छ । थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोचिदिनु होला’, उनले भनिन् । उनले उक्त आग्रह गर्दा गृहमन्त्री लेखक पनि बैठकमा सहभागी थिए ।
उनले बैठकमा सभापति लामिछाने चुनावबाट १२ लाख मतदाताले पत्याएको नेता भएको पनि जिकिर गरिन् । संसद्को चौथो ठूलो पार्टीको सभापति भएकाले पनि उनलाई बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरिन् । लामिछानेलाई लाखौँ मतदाताले विश्वास गरेकाले उनको पक्षमा भइरहेको प्रदर्शनलाई सरकारले स्वभाविक रुपमा लिनुपर्ने जिकिर पनि उनको थियो ।
उनले रास्वपाको प्रदर्शनका क्रममा अदालतमा पुगेको मुद्दा प्रभावित पार्ने प्रयास भइरहेको भनेर गरेको टिप्पणीमा आपत्ति जनाइन् । ‘अहिले सभापतिमाथि लागेको कसुरबारे अनुसन्धान भइरहेको छ । मुद्दा अदालतसम्म पुगेकै छैन’, उनले भनिन्, ‘त्यसैले अदालत प्रभावित पार्न खोजिएको भन्नु गलत हो ।’