यु–१९ राष्ट्रिय क्रिकेटको तयारी पूरा, उद्घाटन खेलमा मधेस र कोशी भिड्ने

यु–१९ राष्ट्रिय क्रिकेटको तयारी पूरा, उद्घाटन खेलमा मधेस र कोशी भिड्ने

काठमाडौं ।  विराटनगरमा हुने वाइवाइ १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ। शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले सात प्रदेशका क्रिकेट टोलीबीच हुने प्रतिस्पर्धाका लागि सबै तयारी पूरा भएको जानकारी दिए।


प्रतियोगिताको लागि १ करोड ९० लाख रुपैयाँ बराबर खर्च हुने उनले बताए। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ हात पार्ने बताएका पाण्डेले उपविजेता हुने टोलीले १ लाख रुपैयाँसहित ट्रफी पाउने जानकारी दिए।

अध्यक्ष पाण्डेका अनुसार शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल घरेलु टोली कोशी प्रदेश र मधेश प्रदेशबीच हुनेछ। उद्घाटन खेलका लागि मधेसको टोली विराटनगर आइसकेको बताएका अध्यक्ष पाण्डेले सहभागी हुने अन्य टोली आउने क्रममा रहेका जानकारी दिए।

पत्रकार सम्मेलनका क्रममा जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद बाबु साद कुरैसीले खेल ५० ओभरको हुने बताए। राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको फाइनल कार्तिक २१ गते हुनेछ।

अध्यक्ष कुरैसीले शनिबारको उद्घाटन खेल विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला स्मृति मैदानमा हुने बताए। पहिलो दिन एक मात्र खेल हुने बताउँदै उनले त्यसपछि फाइनलसम्मका खेलहरु दैनिक दुईवटा हुने उल्लेख गरे।

त्यसका लागि बैजनथापुरस्थित मैदान र विराटनगर–६ स्थित मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा तयार भइसकेको छ। अध्यक्ष कुरैसीले प्रतियोगिताका लागि कोशीको टोलीमा झापाका सौजन घिमिरेको कप्तानीमा १४ खेलाडी चयन भइसकेको बताए।

कोशीको टोलीमा झापाबाट ७, मोरङबाट ४, सुनसरीबाट २, र उदयपुरबाट १ जना खेलाडी रहेको बताए। टोलीको प्रशिक्षकमा झापाका लाक्पा लामा र व्यवस्थापकमा एल्विन बस्नेत रहेका छन्।

खबरपाटी
खबरपाटी