काठमाडौं । क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्ससँग ३ वर्षको सम्झौतासहित आवद्ध भएका छन्।
यससँगै उनी नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणमा जोडिने सबैभन्दा ठूलो विदेशी नाम बनेका छन्।
एनपीएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई आफ्नो टीमको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेका हुन्।
उनले यसअघि भारतीय क्रिकेटर र कोच सन्दीप पाटिलले सम्हालेको भूमिका अब सम्हाल्नेछन्।
सञ्चालक श्रेष्ठले भने, ूहामीलाई हाम्रो टिममा जोन्टी रोड्सलाई पाउँदा निकै उत्साहित छौं। उहाँको अनुभवले पोखरा एभेन्जर्सको भविष्यलाई झन् चम्किलो बनाउनेछ र युवाहरूको क्षमतामा वृद्धि गर्न सहयोग पुर्याउनेछ।ू
रोड्स, जसले मुम्बई इन्डियन्स र हाल लखनऊ सुपर जायन्ट्ससँग काम गरेका छन्, क्रिकेटमा आफ्नो प्रभावशाली यात्रा जारी राखेका छन्। पोखराको मेन्टरमा नियुक्त भएपछि उनले भने, ूयस टिममा हुन पाउँदा म उत्साहित छु। अब म मेरो सीप र अनुभवमार्फत सम्पूर्ण खेलाडी र प्रमुख कोच राजिव कुमारलाई सहयोग गरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु।ू
रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई छोटो प्रशिक्षण दिएका थिए। हाल उनी आईपीएलको लखनउ सुपरजायन्ट्ससँग आवद्ध छन्। पोखरा एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ, र जोन्टीको अनुभव र विशेषज्ञता टोलीका लागि महत्त्वपूर्ण हुने निश्चित छ।
रोड्स नोभेम्बरको पहिलो साता नेपाल आउनेछन्। उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन्। उत्कृष्ट फिल्डिङका लागि पनि उनी परिचित छन् र रोड्सले विभिन्न राष्ट्रिय टिम र आईपीएलसँगको कोचिङमा सफलतापूर्वक कदम अघि बढाइरहेका छन्।