काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ क्रिकेट सिक्स प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले मंगलबार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो। प्रतियोगिता नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङ, चीनको आयोजनामा संचालन हुनेछ।
नेपाली टोलीको नेतृत्व सन्दीप जोराले गर्नेछन् भने प्रशिक्षकको जिम्मेवारी पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएका छन्। यो प्रतियोगितामा नेपालले पहिलो खेल नोभेम्बर १ मा इङ्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ। दोस्रो खेलमा नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
हङकङ क्रिकेट सिक्स एक छोटो ढाँचाको क्रिकेट प्रतियोगिता हो, जसमा हरेक टोलीमा ६ जना खेलाडी हुने गर्दछ र खेल ५ ओभरको हुने गर्छ।
नेपाली टोलीको सूचीमा सन्दीप जोरा (कप्तान), लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र राशिद खान रहेका छन्। यसैगरी प्रशिक्षकको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल रहेका छन्।