वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध

वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो,  अझै ३१ स्थानमा अवरोध

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जनाएको छ । जसअनुसार ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले क्षति भएका सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'क्षतिको विस्तृत विवरण सङ्कलनको काम जारी नै रहेकोमा हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुईदेखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ भने क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनर्स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।'

 

खबरपाटी
खबरपाटी