भारतमा अन्तिम चरणको मतदान सम्पन्न, २९५ भन्दा बढी सीट जित्ने विपक्षी गठबन्धनको दाबी

७ राज्य र एक केन्द्र शासित प्रदेश गरी ५७ सिटका लागि प्रधानमन्त्री मोदीसहित ९ सय ४ उम्मेदवार मैदानमा

भारतमा अन्तिम चरणको मतदान सम्पन्न, २९५ भन्दा बढी सीट जित्ने विपक्षी गठबन्धनको दाबी

काठमाडौं । भारतमा तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आज अन्तिम तथा सातौं चरणको मतदान हुँदैछ । आज ७ राज्य र एक केन्द्र शासित प्रदेश गरी लोकसभाका ५७ सिटका लागि मतदान हुँदैछ । भारतीय निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान जारी रहने छ ।

५७ सिटका अन्तिम चरणको मतदानमा ९ सय ४ उम्मेदवार मैदानमा छन् । बिहारका आठ, हिमाचल प्रदेशका चार, झारखण्डका तीन, ओडिसाका ६, पञ्जाबका १३, उत्तर प्रदेशका १३, पश्चिम बंगालका ९ र चण्डिगढको एक सिटका लागि मतदान हुँदैछ । आज हुने मतदानले सन् २०१४ र २०१९ मा वाराणसीबाट दुई पटक चुनाव जितिसकेका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो पटक जित हासिल गर्ने तयारीमा छन् ।

त्यस्तै मण्डी निर्वाचन क्षेत्रबाट भाजपाकी उम्मेद्वार कंगना रानावत, सोही क्षेत्रबाट विक्रमादित्य सिंह, गोरखपुरबाट अभिनेता रवि किशन, सोही क्षेत्रबाट अभिनेतृ काजल निसाद, केन्द्रीय मन्त्री अनुराग ठाकुर, सतपाल सिंह रायजादा, त्रिणमुल कांग्रेस अध्यक्ष ममता बनर्जीका भतिजा अभिशेख बनर्जीलगायत उम्मेदवार बनेका छन् ।

त्यस्तै प्रधानमन्त्रीको निर्वाचन क्षेत्रसँगै पञ्जाब खदुर साबिह निर्वाचन क्षेत्रमा सम्पूर्णको नजर हुनेछ । उक्त निर्वाचन क्षेत्रबाट आसाम जेलमा रहेका खालिस्तानी समर्थक अतृमपाल सिंह पनि चुनावी मैदानमा छन् । उनको निर्वाचन क्षेत्रमा राम्रो पकड र समर्थन प्राप्त रहेको बताइएको छ ।

अप्रिल १९ मा पहिलो चरणको मतदान भएको थियो भने त्यसपछि क्रमशः अप्रिल २६, मे ७, मे १३, मे २०, मे २५ गरी दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौं चरणको मतदान सम्पन्न भैसकेको छ भने ४ जुनमा सातवटै चरणको मतपरिणाम सार्वजनिक हुनेछ ।

 

खबरपाटी
खबरपाटी