नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरु हुँदै

बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरु हुँदै

काठमाण्डौ फागुन ७, नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा शुरु हुँदैछ । बैठकको दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । बैठकमा केन्द्रीय समितिका १ सय ६५ जना, सङ्घीय निर्वाचन क्षेत्रबाट १ हजार ७ सय ८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापतिलगायत सहभागी हुने कांग्रेसले जनाएको छ।
बैठकमा नीति, साङ्गठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस गरिने छ। नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुहुनेछ । यस्तै, महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुहुनेछ।
प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन तथा लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुहुने कांग्रेसले जनाएको छ। 

खबरपाटी
खबरपाटी