आज निर्वाचन दिवस मनाइँदै

‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूल नारा

आज निर्वाचन दिवस मनाइँदै

काठमाण्डौ फागुन ७,  ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रम गरी आज निर्वाचन दिवस मनाइँदैछ ।
नागरिकको सङ्घर्षको बलमा २००७ साल फागुन ७ गते तत्कालीन राजा त्रिभुवनबाट जहानियाँ राणा शासनको अन्त्य गराइ प्रजातन्त्रको घोषणा भयो । त्यसको दश वर्षपछि संसदीय चुनाव भएको थियोे । त्यही चुनाव हुनुलाई इतिहासले पहिलो आमचुनाव मानेको छ ।
विसं २०१५ साल फागुन ७ गते नेपालमा आमचुनाव शुरु भइ बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै दिवस मनाउने गरिन्छ ।
चुनावका लागि सार्वभौमसत्ता सम्पन्न मतदाता नै सर्वोपरि भएकाले निर्वाचन आयोगले मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणका लागि पालिकाबाटै मतदाता नामावली सङ्कलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधि अगाडि बढाएको छ।
संविधानले निर्वाचन आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र पालिकाका सदस्यको चुनाव गर्ने, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनको लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्त्वको विषयमा जनमत सङ्ग्रह गराउनेसमेत जिम्मेवारी तोकेको छ । 

खबरपाटी
खबरपाटी