काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार माल्दिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।
नेपालले अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो । नेपालले यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा खेलिएको कतारविरुद्धको खेलमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।
नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पाली खेले । रुविना र पूजाले अविजित एक सय ६६ रनको साझेदारी गरे । महिला टी-२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी पनि हो ।
चौथो नम्बरमा क्रिज समाल्न आएकी रुविनाले अविजित एक सय १८ रन बनाइन् । उनी टी-२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी-२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।
फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् ।
समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई-दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ । सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ ।