नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनायो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर

नेपालले कीर्तिमानी ब्याटिङमा रुविनाले पनि कीर्तिमानी प्रदर्शन गरिन

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनायो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर

काठमाडौं । रुविना क्षेत्रीको ऐतिहासिक शतकप्रेरित नेपालले एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध २१४ रनको फराकिलो जित निकालेको छ । 

मंगलबार मलेसियाको बांगीमा पूर्वकप्तान समेत रहेकी रुविनाले शतक बनाएपछि नेपालले २२७ रनको योगफल तयार गरेको थियो । नेपाली महिला टिमबाट कुनै पनि ब्याटरले शतक बनाएको यो पहिलो पटक हो । 

दोस्रो इनिङमा नेपालले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याउनेक्रममा माल्दिभ्सले १३.५ ओभरमा सबै विकेट गुमाएर १३ रनमात्र बनाउन सक्यो । माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका अस्मिना कर्माचार्यले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी अस्मिनाले सात रनमात्र खर्चिइन् । 

अलराउन्डर प्रदर्शन गरेकी रुविनाले ३.५ ओभर बलिङ गर्दा दुई रन खर्चिएर तीन विकेट लिइन् । तीन ओभर बलिङ गरेकी पुजा महतोले पनि दुई रन खर्चिएर तीन विकेट लिइन् । माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको थियो । 

नेपाली महिला टिमले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो । नेपालले माल्दिभ्सविरुद्ध यसअघि सन् २०२१ मा कतारसँग बनाएको १६४ रनको योगफलको कीर्तिमान तोडेको हो । 

नेपालले कीर्तिमानी ब्याटिङमा रुविनाले पनि कीर्तिमानी प्रदर्शन गरिन् । माल्दिभ्सविरुद्ध ११८ रनको अविजित इनिङ खेलेकी रुविना नेपाली महिला टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो ब्याटर बनिन् । रुविना माल्दिभ्सविरुद्ध ५९ बलमा ११८ रनमा अविजित रहिन् । रुविनाले यसअघि सीता रानामगरको नाममा रहेको ८२ रनको कीर्तिमान तोडेकी हुन् । 

माल्दिभ्सविरुद्ध रुविनाले शतक बनाउँदा पुजाले ३६ बलमा ५९ रन जोडिन् । राष्ट्रिय टिमबाट पुजाको पनि यो पहिलो अर्धशतक हो । यसबाहेक, नेपाली टिमको खातामा सीताले १५, कविताले १३ र डोली भट्टले ६ रन थपे । कप्तान इन्दु वर्मा भने गोल्डेन डक भएकी थिइन् ।

खबरपाटी
खबरपाटी