काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले २३३ रनको विजयी लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार दिउँसो क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका लागि नभ्नीन धालीवालले ५० रन बनाए । यस्तै, निखिल दत्ताले ४५ रन बनाए ।
सादबिन जाफरले ३१ रन बनाए भने श्रीयस मोभ्भाले २५ रन जोडे । क्यानडाका हर्ष ठाकेरले २९ रन बनाए ।
नेपालका लागि आजै डेब्यू गरेका हेमन्त धामीले तीन विकेट लिए । यस्तै कुशल मल्लले दुई तथा ललित राजवंशी र आकाश चन्दले एकरएक विकेट लिए ।
पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भने जितिसकेको छ । सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक र दोस्रो खेलमा ४ विकेटको जीत हात पारेको थियो ।
पहिलो खेलमा अविश्वसनीय जस्तो लाग्ने स्थितिबाट कप्तान रोहित पौडेलले ४ विकेट लिँदै नेपाललाई ७ रनको सनसनीपूर्ण जीत दिलाएका थिए ।
दोस्रो खेलमा पनि सिनियर टिमका कप्तान रोहित, जुनियर यू–१९ टिमका कप्तान देव खनाल र ओपनर अनिल साहको शानदार खेलमा नेपालले सहजै सिरिज जितेको हो ।
यो सिरिजलगत्तै नेपाली टोलीले घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्डस् सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ। उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्यान्ड्स खेल्नेछ।
त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी–२० श्रृखला हुनेछ ।