२ खेल जितेसँगै क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपाललाई

२ खेल जितेसँगै क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपाललाई

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । 

शनिबार कीर्तिपुर मैदानमा लगातार दोस्रो खेलमा जित निकाल्दै नेपालले क्यानडाविरुद्धको सिरिज हात पारेको हो । 

तीन म्याचको एकदिवसीय सिरिज नेपालले एक खेल अगावै जितेको हो ।  

क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रनको शानदार इनिङ्स खेलेपछि नेपालको जित सम्भव भएको हो । 

ओपनर अनिल साहले ५० रनको आक्रमक अर्धशतकीय इनिङ्स खेले । साहले २० बलमा ७ चौका र ३ छक्काको मदतले सो रन बनाएका थिए । 

अर्का ओपनर आसिफ शेख १० रनमा आउट भएपछि नेपालको इनिङ्स रोहित र देवले सम्हालेका थिए । रोहित र देवले तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका थिए । त्यही साझेदारी नेपालको जितको आधार बनेको हो । 

भिम सार्कीले २३ र पवन सरार्फले १४ रन बनाए । कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे ।

क्यानडाका हर्ष ठाकर र इश्वरजोत सोहीले समान २ तथा साद बिन जफर र दिलप्रित बाजवाले समान एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो ।

नवनीत धालीवाल र आरोन जोनसनले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए । दुवैको उत्कृष्ट साझेदारीलाई डेब्यु खेलाडी आकाश चन्दले तोडेका थिए । उनले नवनीतलाई आशिफ शेखको हातबाट क्याच आउट गराएका थिए ।

जोनसनले ६५ र नवनीतले ४६ रन बनाए । परगत सिंहले ३८ र निकोलस किर्टनले २० रनको योगदान गरे । श्रेयश मोभाले ४०, दिलप्रीत बाजवाले १९ र उदय बागवानले नटआउट २० रन बनाए ।

नेपालका रोहित पौडेल र कुशल मल्लले समान २ तथा सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सरार्फले समान एक एक विकेट लिएका थिए ।

नेपालले सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ ।

डब्लूसीएल लिग टूको तयारी स्वरुप नेपालले क्यानडासँग तीन म्याचको एकदिवसीय सिरिज घरेलु मैदानमा खेलेको हो । 
 

खबरपाटी
खबरपाटी