काठमाडौँ । बेलायतका विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री एन्ड्रयु मिचेल माघ २९ गतेदेखि नेपाल भ्रमणमा आउने भएका छन् । दुई दिनसम्म हुने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ । भ्रमणको क्रममा उनले बेलायतद्वारा सञ्चालित विभिन्न परियोजनाको अवलोकन समेत गर्ने बताइएको छ ।
एक साताअघि बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरेर फर्केका छन् । बेलायतका सेनाध्यक्ष स्यान्डर्स ३३६ जना नेपाली गोर्खाको अन्तिम छनोट कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए । सो क्रममा उनले प्रधानमन्त्री प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षामन्त्री पूर्णबहादुर खडकासहित अन्य उच्चस्तरीय भेटघाट गरेर फर्केका थिए । उनी फर्केको केही समयपछि राज्यमन्त्री मिचेल आउन लागेका हुन् ।
एक वर्षअघि बेलायतका तत्कालीन विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले पनि नेपालको भ्रमणमा गरेकी थिइन् । प्रधानमन्त्री प्रचण्डको नेतत्वमा सरकार गठन भएको दुई महिनापछि राज्यमन्त्री ट्रेभेलियनको भ्रमण भएको थियो । नेपाल–बेलायत सन्धि–१९२३ एकसय वर्ष पुगेको उपलक्ष्यमा बेलायतबाट लगातार उच्चस्तरीय भ्रमणहरु भैरहेका छन् ।