काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ४५ ओभरमा सात विकेट गुमाएर एक सय ९६ रन बनाएको छ । नेपालका लागि आठौँ नम्बरका ब्याट्सम्यान सोमपाल कामी १४ र नवौँ नम्बरका ब्याट्सम्यान सूर्य तामाङ दुई रन बनाउँदै क्रिजमा छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सूर्यको यो ‘डेब्यू’ खेल हो । नेपालले अतिरिक्त रुपमा १२ रन पाएको छ ।
त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धलिवलद्वारा क्याच गराएका थिए ।
नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए । रोहित आउट हुँदा नेपालले १४.३ ओभरमा ७१ रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी ६२ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । कुशल भुर्तेलले १३.४ ओभरमा ४४ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए ।
नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २६ बलमा दुई चौका पनि हिर्काएका थिए । उनलाई क्यानडाका बलर साद बिन जाफरले एलबीडब्लूको धरापमा पारेका थिए । २२.३ ओभरमा भीम आउट हुँदा नेपालले एक सय १२ रन बनाएको थियो ।