भाटभटेनी सुपरमार्केटको १२ वर्ष पुरानो मुद्दामा अन्तिम फैसला, कर छलीमा दोषी ठहर

भाटभटेनी सुपरमार्केटको १२ वर्ष पुरानो मुद्दामा अन्तिम फैसला, कर छलीमा दोषी ठहर

काठमाडौँ- सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ।

न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले आज नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो।

उक्त प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो। उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको थियो। पुनरावलोकनको सुनुवाइपछि पुनः अदालतले दोषी ठहर गरेको हो।

अदालतको फैसलापछि भाटभटेनीले सरकारलाई करिब रु १३ करोड नक्कली भ्याट बिलमार्फत राजस्व ठगी गरेको ठहर भएको हो। भाटभटेनीले एक वर्षमै रु तीन करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजस्व ठगी गरेको अदालतले ठहर गरेको छ।

अदालतले यसअघिको फैसलामा भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोर, अरुण इन्टरकन्टिनेन्टल, शङ्कर ग्यास, महेश बानियाँ र आइएटी प्रालिलाई दोषी ठहर गरेर बिगो भराउने फैसला गरेको थियो। सर्वोच्चले भाटभटेनीका नाममा जरिवाना अनि सञ्चालक मीनबहादुर गुरुङसहितलाई सजाय सुनाएको थियो।

खबरपाटी
खबरपाटी