काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कप फुटबलमा विदेशी टिम समेत सहभागी हुने भएको छन् ।
केपी ओली कप २०२४ फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि १९ गतेसम्म आयोजना हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ।
युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले प्रतियोगितामा यस पटक विदेशी टिम समेत सहभागी हुने जानकारी दिए । ‘यस पटक हामीले अन्तर्राष्ट्रिय टिम समेत सहभागी गराउँदैछौँ । जुन नयाँ कुरा हो । भुटान र भारतबाट एक/एक टिम आउनेछन्’, थेवेले भने । उनले कुन टिम आउने भन्ने विषयमा केही समयपछि जानकारी गराउने बताए ।
उनका अनुसार आयोजकको केपी फुटबल क्लब र ७ वटा ए डिभिजनका क्लबहरु सहभागी हुने छन् ।
नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको जन्मदिनको अवसर पारेर युवा संघले गत वर्षदेखि केपी ओली कप फुटबल आयोजना गर्दै आएको छ । नेताको मृत्युपछि सम्मान गर्ने भन्दा पनि जीवनकालमै सम्मान दिने उद्देश्यले उनकै नामबाट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष थेवेले बताए ।
थेवेले फुटबल प्रतियोगिता चार ११ लाई प्राथमिकता दिएको बताए । ‘हामीले चार ११ लाई प्राथमिकता दिएका छौँ । फागुन ११औं महिना र प्रतियोगिता पनि ११ गते सुरु गर्दैछौँ । यसको विजेताले पुरस्कार पनि ११ लाख पाउनेछन् भने फुटबलमा पनि एक टिमबाट ११ जना खेल्छन् ।’
उनका अनुसार उपविजेताले ५ लाख पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन् । यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताको खेलहरु च्यासलस्थित मैदानमा हुने र फाइनल खेल दशरथ रंगशालमा खेलाइने आयोजक युवा संघका अध्यक्ष थेवेले जानकारी दिए । फाइनल खेलमा मात्र टिकट राखिएको र त्यसबाट उठेको रकमको ५ प्रतिशत विभिन्न च्यारिटीमा खर्च गरिने उनले जानकारी दिए ।
गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।