तपस्वीको भेषमा अपराधको शृंखला मच्चाएका रामबहादुर बमजनविरूद्ध प्रहरीमा थप दुइटा जाहेरी परेको छ।
गत बुधबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ हात्तींगौडास्थित आफ्नै घरबाट पक्राउ परेपछि रामबहादुर बमजनविरूद्ध जिल्ला प्रहरी कार्यालय बारामा दुइटा जाहेरी परेको हो।
कार्यालय प्रमुख एवं एसपी सुरेश काफ्लेका अनुसार कर्तव्य ज्यान सम्बन्धी कसुर र बेपत्ता पारिएको सम्बन्धी कसुरमा जाहेरी परेको हो।
सर्लाहीको बाग्मती नगरपालिका-१२ की रिता वोटको परिवारले बमजनविरूद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएको हो। यस्तै बाराका सुरेश आलेमगरलाई बेपत्ता पारेको भन्दै परिवारले जाहेरी दिएको हो।
जाहेरी परेसँगै प्रहरीले यस घटना सम्बन्धी अनुसन्धान अघि बढाएको एसपी काफ्लेले बताए।
‘हामी बमजनलाई ल्याएर अनुसन्धान अघि बढाउँछौं,’ उनले भने।
बमजन हाल महोत्तरी कारागारमा पुर्पक्षका लागि थुनामा छन्।
काठमाडौंमा पक्राउ परेपछि बमजनलाई बिहीबार सर्लाही अदालतमा पेस गरिएको थियो।
जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि उनलाई महोत्तरी कारागार चलान गरिएको हो।
अदालतमा बमजनले १२-१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो। बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।