प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताए ।
नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बैठकमा जोड दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताएका सापकोटाले बताए । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हात पारेको दाबी गरेका पनि सापकोटाले बताए ।
प्रधानमन्त्री प्रचण्डले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरूलाई गराएका छन् ।