पृथ्वीजयन्तीमा राप्रपाको चियापान, प्रधानमन्त्रीसहित ८,००० जनालाई निमन्त्रणा

पृथ्वीजयन्तीमा राप्रपाको चियापान,  प्रधानमन्त्रीसहित ८,००० जनालाई निमन्त्रणा

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडाैंकाे भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत आठ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनले विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा हुने चियापान समारोहमा विशिष्ट व्यक्तिहरू सहभागी हुने जानकारी दिए । सोही दिन सो पार्टीले सिंहदरबारस्थित पृथ्वीनारायण शाहकाे सालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ । भृकुटीमण्डपमा भेला भइ अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हुँदै सिंहदरबारअगाडि रहेको पृथ्वी सालिकसम्म ऱ्याली र सालिकमा माल्यार्पण हुने बताइएकाे छ ।

उनका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा केन्द्र, प्रदेश र स्थानीय तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउनेगरी गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तर्क्रिया, दीपावलीलगायत कार्यक्रम गरी उत्सवका रूपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरिएको छ ।

जिल्लामा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार सोही दिन ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः  एक लाख, ५० हजार र २५ हजार रुपैयाँ तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । पृथ्वी जयन्तीलाई एकता दिवस र उत्सवका रूपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ । 

खबरपाटी
खबरपाटी