काठमाडौं- सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारूढ दलको बैठकले निकाल्ने सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए। ।
पहिलो चरणमा ४ बजे प्रमुख चार राजनीतिक दल र ५ बजे गठबन्धनमा आबद्ध सबै दलको बैठक बोलाइएको नेता लेखकले बताए।
साँझको बैठकमा सत्ता साझेदार सबै दललाई आमन्त्रण गरिएको छ। यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग पनि मिलेर जाने विषयमा छलफल भएको उनले बताए।
एमालेले राष्ट्रियसभामा रिक्त सबै स्थानमा उम्मेदवारी दिने घोषणा गरेको छ। एमालेको घोषणापछि गठबन्धनमा सहभागी दलका बीचमा नै सिट बाँडफाँट गरेर जाने सहमति भएको नेता लेखकले बताए।