राष्ट्रियता विरोधी सम्झौता गरेको झलनाथको आरोप, सरकारविरुद्ध सडकमा आउने चेतावनी

राष्ट्रियता विरोधी सम्झौता गरेको झलनाथको आरोप, सरकारविरुद्ध सडकमा आउने चेतावनी

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतसँग राष्ट्रियता विरोधी सम्झौता भएको आरोप लगाएका छन् । हिजो नेपाल(भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भएका चार सम्झौतामध्ये  उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाको नाममा आश्चर्यजनक सम्झौता भएको भन्दै उनले आपत्ति जनाएका हुन् । 

जनताको भावना, चाहना र अपेक्षालाई कुल्चिदै गठबन्धन सरकारले एउटा विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गरेको उनले बताएका छन् । 

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा चारवटा सम्झौता भएका छन् । त्यसमध्ये उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाका नाउँमा एउटा आश्चर्यजनक सम्झौता पनि भएको छ,ु उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, त्यो सम्झौता बमोजिम अबदेखि छिमेकी भारतको नेपालस्थित राजदूतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्नेछ । एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो ।

यसलाई उनले “लापरवाहीपूर्ण र राष्ट्रहित विरोधी सम्झौता मात्र नभई नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथिकै खेलबाडुसमेत भनेका छन् । 

उक्त सम्झौता तुरुन्त रद्द गर्न उनले माग गरेका छन् । अन्यथा सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने उनले चेतावनी दिएका छन् ।
 

खबरपाटी
खबरपाटी