काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरूले कोसी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै एमालेसँग मिल्न खोजेको बताएका छन्। हिजो कोसी प्रदेशमा एमालेसँग सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै आज एमालेसँग सहकार्य गर्न लागेको उनको दाबी छ।
कोइरालाले सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको दाबी गरेका छन्।
‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्।’कोइरालाले भने,‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ।’
उनले सत्तारुढ दलसँग प्रमुख प्रतिपक्षी दल भएर एमालेले के चाहेको भन्दै प्रश्न गरेका छन्।
राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचनमा विपक्षी एमालेलाई पनि समेटेर लैजान सत्तागठबन्धनका नेताहरू लचिलो बनेका छन्। राष्ट्रियसभाका १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ। सत्तागठबन्धन मिलेर चुनाव लडे एमालेले पूरै सिट गुमाउने स्थिति छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय निरुपणमा सहयोग जुटाउने उद्देश्यले एमालेसँग पनि चुनावमा मिलेर जाने प्रस्ताव गरेका थिए। त्यसकै लागि केही दिनयता प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच लगातार छलफल भइरहेको छ।
बुधबार सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्री दाहालले एमालेलाई पनि समेटेर लैजानेबारे जानकारी गराएका थिए। प्रधानमन्त्री दाहालले ‘एमालेलाई जिरो बनाएर नजान’ओलीले प्रस्ताव गरेको जानकारी बैठकमा गराएका थिए। त्यसपछि नेताहरूले एमालेसँग ठोस सहमति माग्नुपर्ने धारणा राखेका थिए । भागबन्डाबारे छलफल गर्न अहिले बिहान ९ बजे फेरि गठबन्धनको बैठक बस्दैछ।
विधेयकलाई आउने हिउँदे अधिवेशनमा पेस गरेर पारित गर्ने गठबन्धनको योजना छ। तर, एमालेले यसका कतिपय प्रावधानमा छलफल गर्नुपर्ने बताइरहेको छ। प्रधानमन्त्री प्रचण्डले आम सहमतिमै विधेयकलाई पारित गर्न चाहेकोले ढिलाइ भएको बताइरहेका छन्। त्यही भएर उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहमत गराउन निरन्तर छलफलमा छन्।