सत्तारुढ दलबीच एमाले प्रस्तावमाथि छलफल, गठबन्धनको बैठक भोलि बिहान पुनः बस्ने

सत्तारुढ दलबीच एमाले प्रस्तावमाथि छलफल, गठबन्धनको बैठक भोलि बिहान पुनः बस्ने

सत्तागठबन्धनका दलहरूबीचको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेको प्रस्तावबारे छलफल भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आज बसेको सत्तागठबन्धनको बैठकमा एमालेको प्रस्तावमाथि छलफल भएको हो। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभामा आफूहरूलाई शून्य बनाएर नजानुस् भनेर आफूलाई एमाले अध्यक्षले बताएको जानकारी गराएका थिए। त्यसपछि सोही विषयमा केन्द्रित भएर सत्तागठबन्धनमा छलफल भएको थियो। तर, बैठकले कुनै निष्कर्ष भने निकालेको छैन। 

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्ताव स्पष्ट नआइसकेकाले अहिले कुनै टुंगोमा नपुगेको प्रतिक्रिया दिए। ‘एमालेको प्रस्ताव के हो भन्ने क्लियर आएपछि कुराकानी गर्न सजिलो हुन्छ भन्ने भएको छ। हामी अहिले कुनै टुंगोमा पुगेका छैनौँ,’ उपाध्यक्ष पाण्डेले भने।

सत्तागठबन्धनको बैठक चलिरहँदा एमाले अध्यक्ष ओली पनि बैठकमा सहभागी हुन पुगेका थिए। केहीबेर बसेर उनी बाहिरिएको नेता पाण्डेले जानकारी दिए। 

 

राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनमा एमालेले आफूलाई यति सिट चाहिन्छ भनेर अहिलेसम्म कुनै प्रस्ताव भने नराखेको प्रधानमन्त्रीको भनाइ थियो। 

प्रधानमन्त्रीले एमाले अध्यक्षको प्रस्ताव जानकारी गराएपछि सत्तागठबन्धनका अन्य दलका नेताले एमालेको ठोस प्रस्ताव नआई अहिले कुनै धारणा बनाउन नहुने बताएका थिए। 

राष्ट्रिय सभाको विशेषतालाई ख्याल गरेर मिलेसम्म सबैलाई समेटेर जानुपर्ने संकेत केही नेताले व्यक्त गरेका थिए। 

प्रधानमन्त्रीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पछिल्ला दुई दिन लगातार संवाद गरेका छन्। बुधबार पनि उनीहरूबीच छलफल भएको थियो। सो छलफलमा पनि एमाले अध्यक्ष ओली सहभागी भएका थिए। 

सत्तागठबन्धनले एमालेको प्रस्तावलगायतका विषयमा छलफल गर्न भोलि बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा पुनः छलफल राखेको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए। 
 

खबरपाटी
खबरपाटी