काठमाडौं । अघिल्लो सातादेखि ओरालो यात्रा समातेको सेयर बजारमा मङ्गलबार थप गिरावट आएको छ ।
केही समयको अपट्रेन्ड पछि करेक्सन मोडमा चलेको बजारले सोही ट्रेन्ड पछ्याउँदै आज ३०.०५ अङ्कले घटेर नेप्से परिसूचक २०३०.१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर चार अर्ब ४ करोड ४६ लाख ५९ हजार नौ सय २२ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा सिएचडिसि, चिरख्वा हाइड्रो, नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र लक्ष्मी लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ९।९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये हिमालयन हाइड्रो, सिटिजन लाइफ इन्स्योरेन्स र दोर्दी हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।
आज कुनै उपसूचक बढ्न सकेनन् । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.२१ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स उपसूचक २.९९ र ननलाइफ इन्स्योरेन्स उपसूचक २।७६ प्रतिशतले घटे ।