काठमाडौँ | रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् । सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताएका हुन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार बोल्दै उनले भने, ‘गृहमन्त्रीज्यू, तपाईंलाई म स्पष्ट भन्न चाहन्छु। तपाईं नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएको युवाको हत्या गर्यो।’
दुई होनहार युवाहरूको हत्या गरेको महसुस गर्न पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उनले आग्रह गरे।
पूर्वगृहमन्त्रीसमेत रहेका उनले प्रहरी प्रशासनसँग भीडलाई नियन्त्रण गर्न सक्ने क्षमता भएको बताए। तर नेतृत्वको कमीकमजोरीका कारण घटना भएको र त्यस घटनापछि प्रशासनले मन्त्री श्रेष्ठलाई गम्भीरतापूर्वक नलिने उनले बताए।
गृहमन्त्री श्रेष्ठ र प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले गोली कतिखेर चलेको भन्ने यकिन नभएको भनेको भन्दै आलोचना पनि गरेका थिए।