बालकुमारी घटनामा भौतिकमन्त्री ज्वाला र श्रममन्त्री भण्डारीको भूमिका छानबिन गर्न संसदीय समितिको निर्देशन

बालकुमारी घटनामा भौतिकमन्त्री ज्वाला र श्रममन्त्री भण्डारीको भूमिका छानबिन गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री भण्डारी र भौतिकमन्त्री ज्वालाको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति रामहरि खतिवडाले १३ पुसमा इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा ज्यान गुमाएका दुई जना युवकका परिवारलाई थप क्षतिपूर्ति दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए । 

समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै, बैठकले घटना सम्बन्धित साना कर्मचारीमात्र निलम्बन पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुन र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न निर्देशन दिने निर्णय गरेको छ । 

बैठकले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन पर्याप्त उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।
 

खबरपाटी
खबरपाटी