काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको तथा उनको दल माओवादीका मानक नेता माओको १३०औं जन्मजयन्ती भएको अवसरमा दिएको राष्ट्रको नामको सम्बोधनमा कूटनीतिलाई प्राथमिकता दिए ।
४५ मिनेटमा करिब पाँच हजार शब्दमा आफ्ना कुरा सकाएका प्रधानमन्त्रीले सम्बोधनको एक मुख्य हिस्सा कूटनीतिलाई बनाएका थिए । ‘सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति’ आदिलाई उनले मुख्य आधार बनाएर बोले ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनको क्रममा नेपालको बिजुली भारत, बंगलादेश र चीनसम्म बेच्ने कुरा जोडे । लोडसेडिङलाई नेपालीले ‘नियति’ बुझेकोमा आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा त्यसलाई हटाएर बिजुली व्यापार गर्न सफलता पाएको उनले चर्चा गरे । भारतसँगको बिजुली व्यापारबाट विगत एक वर्षमा ७०० मेगावाट बिजुली बेचेर १५ अर्ब २९ करोड कमाएको भन्दै उनले त्यो कमाइ सोही अवधिको अघिल्लो वर्षको कमाइभन्दा ३१.२८ प्रतिशत बढेको बताए ।