काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा सोमबार फाइनल पुग्न पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन् ।
लिग चरणमा पहिलो स्थान हासिल गरेको पोखरा र दोस्रो स्थान हासिल गरेको धनगढी पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् ।
खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले क्वालिफायरको दोस्रो मौका भने पाउनेछ । उसले इलिमिनेटर राउण्ड जितेर आउने काठमाडौं वा ललितपुरसँग खेल्नेछ ।
पोखराका लागि लिग चरणको यात्रा निकै शानदार रह्यो । लिगको अन्तिम खेलमा धनगढीलाई बराबरीमा रोकेको पोखराले लिग चरणमा सर्वाधिक ४ जित निकाल्न सफल रह्यो । पोखराका मोसेस टोम सर्वाधिक गोलकर्ताको दौडमा अघि छन् । उनले सर्वाधिक ५ गोल गरेका छन् । धनगढीविरुद्ध पछिल्लो खेलमा गोल गरेका उनीसँग धनगढी पक्कैपनि सतर्क रहनेछ । लिग चरणको प्रर्दशनले पोखरालाई दोस्रो संस्करणको उपाधिको मुख्य दाबेदारको रुपमा अघि सारेको छ ।
धनगढीका पछिल्ला केही खेल सुखद रहेनन् । प्रतियोगितामा शानदार सुरुवात गरेको धनगढीले पछिल्लो खेलमा पोखरासँग बराबरी मात्र खेलेन, त्यसअघि झापासँग २–० को हारनै ब्यहोर्न पर्यो । झापासँग हार्नुअघि काठमाडौंसँग निराशपूर्ण बराबरीको नतिजा निकालेको थियो । पछिल्ला खेलमा लय गुमाएको धनगढीलाई पोखराविरुद्ध उत्रदै गर्दा सुरुवातमा देखिएको जितको भोकलाई फर्काउन आवश्यक छ ।
दुवै टिम पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छन् । धनगढी प्रतियोगिताको साविक उप विजेता हो भने पोखराले दोस्रो सिजनमा आएर प्लेअफमा स्थान बनाउन सफल भएको टिम हो ।