काठमाडौं- अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा आगामी कार्यकालको लागि दुई पक्ष बीच सहमतिको भएको छ। दुई दिनसम्म चलेको छलफलमा करण चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको छ।
यो सहमतिसँगै पुस २० र २१ गते हुने नाडाको ४७औं साधारणसभामा निर्वाचन नहुने भएको छ। अटोमोबाइल व्यवसाय संकटमा रहेका बेला चुनावमा जान नहुने भन्दै पूर्व अध्यक्षहरुले सहमतिका लागि पहल गरेका थिए। त्यही पहलका कारण चौधरी र गोल्छाबीच सहमति जुटेको हो।
यो सहमतिपछि गोल्छा वरिष्ठ उपाध्यक्ष हुनेछन्। एशोसिएसनले वरिष्ठ उपाध्यक्ष पद थपेर गोल्छालाई चयन गर्न लागेको हो। नेपाल उद्योग वाणिज्य महासंघकोजस्तै वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधानसहित विधान संशोधन हुनेछ। एशोसिएसनको उपाध्यक्षमा सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बन्ने सहमति भएको छ।