काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी र गरिमा बढाउन संसद सचिवालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। १७ औं संघीय संसद सेवा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले विगतको समीक्षासहित आगामी दिनमा संसदलाई प्रभावकारी र गरिमा बढाउन संसद सचिवालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्।
शक्ति पृथकीकरणका साथै विश्वव्यापी रुपमा संसदको भूमिकालाई प्रभावकारी बनाउने विषयमा विगतदेखि अहिलेसम्म आइपुग्दा बिडम्वनापूर्व व्याख्या र विश्लेषण गर्नुपर्ने कुरालाई आफूले पनि गम्भीर रुपमा लिएको उनले बताए ।
उनले संघीय संसद सचिवालयलाई प्रभावकारी बनाउनका लागि आफूले पनि प्रभावकारी भूमिका निर्वाह गर्ने धारणा राखे । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ ।
त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संघीय संसदलाई प्रभावकारी बनाउनका लागि निजामती कर्मचारी ऐन,संघीय संसदको सेवा ऐनलाई मिलाएर अघि बढ्नुपर्ने बताए। व्यक्ति नभई संस्थालाई केन्द्रीत बनाएर काम गर्न उनले आग्रह गरे । उनले सरकारले संसदलाई विनियोजित गर्ने बजेटलाई विभाग र शाखाको जस्तो बनाउन नहुने जिकिर गरे । संघीय संसदले प्रस्ताव गरेको बजेटलाई अर्थमन्त्रालयले पास गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, कानुनमन्त्री धनराज गुरुङले संघीय संसदका कर्मचारीको भूमिका अतुलनीय रहेको बताए । उनले संसद सचिवालयलाई प्रभावकारी बनाउन आफूले सक्दो काम गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा दीर्घ सेवा पदक र खेलकुद प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियो । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाइँदै आएको छ ।