मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल

मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउँछन् । उनी भन्छन्, 'विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।'

उनी भन्छन्, 'हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण तालको क्षेत्रफल निकै ठूलो रहेको थियो । अहिले बगर बनेको छ । ताल नै छैन । त्यही तालदेखि गङ्गापूर्ण हिमालसम्म मनमोहक हिउँ थियो, त्यो पनि अहिले छैन । आँखै अगाडि ताल सुक्यो, हिमाल हरायो ।' पहिले पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङ बताउँछन् । 

 


 

उनी भन्छन्, 'किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ । समयमा हिमपात हुनै छाड्यो । यसले यहाँ धेरै असर गरेको छ । समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन् । हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ ।' उनलाई बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रूपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको उनी बताउँछन् । याङदुङ भन्छन्, 'हिमाली भेगमा पानी भनेकै हिउँ हो । हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै ! हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखापर्ने भएको छ ।' 

जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रूपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरूप कालापत्थर बन्नेछन् । नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताउँछन् । उनी भन्छन्, 'पहिले पहिले पर्यटकले मनास्लु हिमाल नजिकैको लार्के पिक आरोहण गरेको थाहा पाएका थियौँ । अहिले लार्के पिक हराएको छ ।' 

'मनास्लु हिमालको छेउको लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको छ । तर, त्यो लार्के पिक अहिले छैन,' गुरुङ थप्नुहुन्छ, '२०४३ सालसम्म लार्के पिक थियो । अहिले त्यो नाङ्गो डाँडा भइसकेको छ । यसबारे सरकारले अध्ययन नै गरेको छैन । यस्ता विषयलाई सरकारले गम्भीर रूपमा लिन सक्नुपर्ने हो ।' पथप्रदर्शकले लार्के पिक भनेर लार्के हिमाल आरोहण गराउन थालेको वर्षौं भइसक्यो । 'हिजो देखेको ताल आज देख्न नपाउने, हिजो देखेको हिमाल आज देख्न नपाउने । हाम्रै जीवनभरिमा ठूलो फेरबदल आएको छ,' गुरुङ भन्छन्, 'उच्च हिमाली क्षेत्रमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौँ । बेलाबेलामा विपद खेप्नुपरेको छ । तर, रोक्ने उपाय हामीसँग छैन र न्यूनीकरण गर्न समेत सकिरहेका छैनौँ ।'

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ आफ्नो उमेर बढेसँगै मौसममा आएको परिवर्तनले विश्व नै फेरबदल भएको लाग्न थालेको बताउँछन् । अरु क्षेत्रमा भन्दा जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी देखिने गरेको उनको भनाइ छ । उनी भन्छन्, 'यहीँको गङ्गापूर्ण ताल हेर्दाहेर्दै विलीन भयो । हामीले देखेका यी हिमनदी (ग्लेसियर) माथि सरेका छन् । यसलाई नियन्त्रण, न्यूनीकरण गर्नेतर्फ कसले सोचेको छ ?' नासों गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्र घले भन्छन्, 'ताचै गाउँको डाँडामा असारसम्मै हिउँको थुप्रो हुन्थ्यो । कुनै वर्ष त बाहुनडाँडा (लमजुङ) सम्म परेको हिउँ लामो समय रहन्थ्यो । आजभोलि आरीघोप्टे पानी पो पर्छ । गएको वर्ष त हिउँ देख्न पनि पाइन्न भन्दा भन्दै बेमौसममा हिउँ पर्यो । त्यो पनि पर्याप्त परेन ।' 

खेतबारीमा पहिले भएका जीव किरा हराएको र नयाँ प्रजातिका किरा देखिन थालेका उनी बताउँछन् । 'यहाँका डाँडाहरूमा भेटिने हाब्रे पनि लोप भएका छन् । डोना तालको बाटोबाट गोठमा जाँदा ४०-५० वटा हाब्रे भेट्थ्यौँ । एउटै रुखमा ५-७ वटा हुन्थ्यो । १० वर्ष अगाडि त हाब्रेको दिसासम्म देखिन्थ्यो । आजभोलि खोज्दा पनि देखिदैन,' उनी भन्छन् । 

 

खबरपाटी
खबरपाटी