काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति तथा संसदीयको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बुधबार सम्पन्न हुँदा पार्टीले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले सांगठानिक पुनःसंरचना गरेको छ भने पार्टीको नीति तथा सिद्धान्त पनि पारित गरेको छ ।
बैठकले पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ । उनले प्रतिवेदनमा वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरूबारे प्राथामिकता दिएर अब के गर्ने भन्ने विषयमा उल्लेख गरेका छन्।
उनले बाध्यताले श्रम गर्न विदेश गएका नेपाली र उनका नेपालमा आश्रित परिवारबारे विशेष ढंगले सोच्ने बेला आएको भन्दै श्रम गर्न गएका नागरिकको सुरक्षा र हक अधिकारको सुनिश्चितता राज्यले गनुपर्ने बताएका छन् । उनले वैदेशिक रोजगारीमा गएकाहरूको सबैभन्दा धेरै वकालत आफ्नो दलले गरेको भन्दै अझै पनि गर्ने बताएका छन् । गैरआवासीय नेपालीको ज्ञान र सिप पनि नेपालको विकासमा उपयोग गर्नुपर्ने बताएका छन् ।