मागभन्दा आपूर्ति बढी भएपछि बजारमा तरकारी फालाफाल

मागभन्दा आपूर्ति बढी भएपछि बजारमा तरकारी फालाफाल

काठमाडौँ । बजारमा मागको तुलनामा आपूर्ति बढी भएपछि तरकारी फालाफालको अवस्था छ । आन्तरिक उत्पादन बढे पनि त्यस अनुसार उपभोक्ता नहुँदा तरकारी बिक्नै छाडेको व्यापारीहरू बताउँछन् ।

काउली, बन्दा, ब्रो काउली, विभिन्न प्रकारका हरियो साग, गाजर, मुला लगायत मौसमी तरकारीको थोक मूल्य कम्तीमा १० देखि ५० रुपैयाँ प्रतिकिलो छ । तरकारीको मूल्य घट्नुमा माग कम, आपूर्ति बढी हुनु नै मुख्य कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

उपभोक्ता कम, तरकारी बढी भएर मूल्य घटेको तरकारी व्यवसायी राजेन्द्र रिजाल बताउँछन् । ‘युवाजति विदेश गए, अहिले खाने मान्छे छैन, तरकारी बढी भएर मूल्य घट्यो,’ उनले भने ।

रिजालले किसानबाट खरिद गरी ल्याएको तरकारी दुईदेखि तीन दिन राख्छन् । सो अवाधिमा तरकारी बिक्री नहुँदा कम मूल्यमा बेच्नुपर्ने या त कुहिएर फाल्नुपर्ने उनको गुनासो छ । ‘एक बोरा तरकारी ल्याउँदा कम्तीमा पाँच हजार खर्च हुन्छ,’ उनी भन्छन्, ‘तीन दिनमा तरकारी बिकेन भने कि घाटा खाएर बेच्नु पयो, कि फाल्नु पर्छ ।’

कालीमाटी बजारमा तरकारीको आपूर्ति नियन्त्रण नभएकाले पनि आपूर्ति बढी भएको समितिले उल्लेख गरेको छ । कालीमाटी बजारमा दैनिक आठ सय मेट्रिक टन तरकारी आपूर्ति हुने समितिका कार्यकारी निर्देशक डा.महादेव प्रसाद पौडेलले बताए ।

‘यहाँ आपूर्ति हुने कृषि उपजमध्ये करिब ८० प्रतिशत हरियो तरकारी हुन्छ,’ उनले भने । वार्षिक रुपमा कालीमाटी बजारमा ६३ प्रतिशत आन्तरिक उत्पादन आपूर्ति हुन्छ भने ३७ प्रतिशत आयातित कृषि उपज भित्रिने पौडेलले बताए ।

चार महिनामा करिब १२ अर्बको तरकारी आयात

चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् ।

विभागका अनुसार चार महिनामा ११ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात हुँदा ४२ करोड ८९ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । ११ अर्ब ४४ करोड रुपैयाँ तरकारीमा नेपालको व्यापार घाटा भएको विभागले उल्लेख गरेको छ । चार महिनामा तरकारी आयात–निर्यात गर्दा नेपालले २ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

खबरपाटी
खबरपाटी