बल्खु प्रदर्शनमा प्रहरीले हानेको थियो म्याद सकिएको अश्रुग्यास

बल्खु प्रदर्शनमा प्रहरीले हानेको थियो म्याद सकिएको अश्रुग्यास

काठमाडौं । बिहीबार बल्खुमा भएको प्रदर्शनमा प्रहरीले म्याद सकिएको अश्रुग्यास प्रयोग गरेको भेटिएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा बल्खुमा बिहीबार प्रदर्शन भएको थियो।

प्रदर्शनकारीले तोकिएको क्षेत्र ९त्रिवि परीक्षा नियन्त्रणका कार्यालय नजिकैको सडक० तोडेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

प्रहरीले बल्खुमा एक सय ५७ सेल अश्रुग्यास प्रहार गरेको थियो भने पाँच राउण्ड रबरको गोली हानेको थियो।

प्रहरीले प्रहार गरेका अश्रुग्यास सेलमध्ये कतिपयको म्याद सकिएको थियो।

३८ एमएम टियर ग्यास स्मोक सेलको मिति सन् २०१२ अगष्‍टमा सकिएको थियो। तर उक्त अश्रुग्यास बिहीबार बल्खुमा प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले प्रहार गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले बल्खु प्रदर्शनमा विभिन्न युनिटका प्रहरीहरू खटिएको हुँदा कुन निकायबाट म्याद सकिएको अश्रुग्यास प्रयोग भएको खुल्न बाँकी रहेको बताए।

‘म्याद सकिएको अश्रुग्यास प्रयोग भएको भन्ने मैले पनि समाचारबाट थाहा पाएको हुँ। बिहीबार प्रहरी प्रधान कार्यालयलगायत विभिन्न युनिटका प्रहरीहरू बल्खुमा खटिएका थिए,’ उनले भने, ‘हतारहतारमा लिँदा म्याद सकिएको परेको हो कि के हो प्रहरी प्रधान कार्यालयले बुझ्दैछ।’

अश्रुग्यासको धुवाँले आँखा पिरो बनाउँछ। 

बल्खुको प्रदर्शनमा पाँच जना प्रहरीसहित २८ जना घाइते भएका थिए। प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।

खबरपाटी
खबरपाटी