छुवाछुत आरोपित पोखराका वडाध्यक्षलाई साढे ४ महिनाको कैद फैसला

छुवाछुत आरोपित पोखराका वडाध्यक्षलाई साढे ४ महिनाको कैद फैसला

छुवाछुत आरोपित कास्कीको पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला सुनाएको छ ।

अदालतले यसअघि धरौटीमा छोडेकोमा बिहीबार भएको फैसलाले उनलाई ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तिराएको हो । वडाध्यक्ष अधिकारीले वडा सदस्य मैयाँ नेपालीलाई दलित समुदायको भन्दै गत माघमा दुर्व्यवहार गरेका थिए ।

न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानामा ५० प्रतिशत थप गरेर बिहीबार फैसला सुनाएको हो । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ अनुसार जनप्रतिनिधि भएकाले उनलाई ५० प्रतिशत थप सजाय अदालतले तोकेको हो । अधिकारीले पीडित वडा सदस्यलाई १० हजार रुपैयाँ थप क्षतिपूर्ति दिनु पर्नेछ ।   

सदस्य नेपालीको जाहेरीपछि वडाध्यक्ष अधिकारी गत वर्ष २६ पुसमा पक्राउ परेका थिए । अदालतले उनलाई गत ९ माघमा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोडेको थियो । १० महिनापछि अन्तिम फैसला सुनाउँदै अदालतले वडाध्यक्ष अधिकारीलाई कैद र जरिवाना तोकेको हो । 

कांग्रेसका अधिकारी २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमार्फत वडाध्यक्ष चुनिएका थिए । पोखरा-२४ मा वडाध्यक्षबाहेक ४ सदस्य नेकपा एमालेका छन् ।

खबरपाटी
खबरपाटी