सर्वोच्च अदालतमा ६ न्यायाधीश सिफारिस, भागबण्डाको निरन्तरता

सर्वोच्च अदालतमा ६ न्यायाधीश सिफारिस, भागबण्डाको निरन्तरता

काठमाडौं । राजनीतिक भागबण्डालाई निरन्तरता दिँदै न्यायपरिषदले सर्वोच्च अदालतमा रिक्त ७ मध्ये ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले दुई जना कानुन व्यवसायी र ४ जना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना उच्च अदालतका न्यायाधीश हुन् । त्यस्तै कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस भएको छ ।

सुवेदी उच्च अदालत विराटनगरकी कामू मुख्य न्यायाधीश हुन् । कानुन व्यवसायबाट न्यायिक करियर सुरु गरेकी उनी तत्कालिन पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त भएकी थिइन् ।

सिफारिस भएका अब्दुल अजिज मुसलमान विशेष अदालतको सदस्य थिए । २०७३ सालमा उच्च अदालतमा ८० जना न्यायाधीशको नाम सिफारिस हुदा उनी पनि सूचीमा थिए ।

उच्च अदालत पाटनका कामू मुख्य न्यायाधीश रहेका महेश शर्मा पौडेल २०७३ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् । त्यसअघि उनी बेपत्ता छानबिन आयोगका सचिव थिए । सरकारी वकिल समूहबाट न्याय सेवामा प्रवेश गरेर सर्वोच्च अदालतको न्यायाधीश बन्ने सीमित व्यक्तिभित्र उनी पनि परेका छन् ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस टेकप्रसाद ढुंगाना उच्च अदालत पाटनमा कार्यरत थिए । उनी २०७३ सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।

उनी न्याय सेवामा कानुन समूहबाट करियर सुरु गरी कानुन मन्त्रालयको सचिवसम्म भएका थिए । संविधानसभाको दुवै कार्यकालमा संघीय संसद सचिवालयमा रहेका उनी संविधान निर्माण प्रक्रियामा संलग्न थिए ।

यसपटक सर्वोच्चमा न्यायाधीश सिफारिस हुँदा ढुंगानापछिको रोलक्रममा दुईजना कानुन व्यवसायीको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस निकटका सुनिल कुमार पोखरेल र एमाले निकटका बालकृष्ण ढकाल सिफारिस भएका हुन् ।

पोखरेल नेपाल बार एसोसिएसनको पूर्वमहासचिव हुन् भने ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन् । प्रस्तावित नाम संसदिय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ ।

सर्वोच्चमा रिक्त रहेको एक न्यायाधीशको पद सत्तारुढ माओवादी केन्द्रका लागि राखिएको न्यायपरिषद स्रोतको दाबी छ ।

 

 

खबरपाटी
खबरपाटी