नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै परेका रिटमाथिको सुनुवाइ आज हुँदै छ ।
टिकटकका कारण सामाजिक सदभाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै २७ कात्तिकमा सरकारले नेपालमा ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् ।
सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दायर भएका छन् । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार, विवादको सुनुवाइका लागि ४ मंसिरको समय तोकिएको छ ।
सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।