काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरि जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो ।
बिहान त्रयोदशी तिथि परेका दिन धन्वन्तरि जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दु ग्रन्थमा गरिएको छ ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो ।
त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।
विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रुपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।
धन्वन्तरि जयन्ती एवं आरोग्यता दिवसका अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि सं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्यता दिवसका रुपमा पनि मनाउन थालिएको हो ।
हातमा वैदिक हिन्दु दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रुपमा जडिबुटी लिएका भगवान् धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।
धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरूमा समेत विविध कार्यक्रम गरी मनाइँदै छ ।
विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन विसं २००५ मा भएको हो । किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका संस्थापक अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए ।