जाजरकोट। राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको बेलामा कोही छैन भनेर नआत्तिन र हामीलाई मद्धत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छन् ।
भूकम्प प्रभावितहरुको अवस्था बुझ्न मंगलवार भूकम्पको केन्द्रबिन्दु जाजरकोटको सदरमुकाम खलंगा र बारेकोटेको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरुसँगको छलफलमा भने – ‘अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला ।’
विपतको समयमा युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गर्दै यो बेलामा एकैपटक १० वटा कुरा सोच्ने र सोचेभन्दा बढी ११ वटा काम गर्नुपर्ने अवस्था हो भने ।
उक्त अवसरमा बारेकोट गाउपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरी मध्ये २४० पूर्णरुपमा ध्वस्त भएको, १ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराएका थिए ।
भूकम्प प्रभावितहरुको अवस्था बुझन् मंगलबार बिहान जाजरकोट सदरमुकाम खलङ्गा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाईतेहरुलाई भेटेका थिए भने भूकम्पपीडित स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समेत छलफल गरेका थिए ।
त्यसपछि उनी जाजरकोटको रामीडाँडा क्षेत्र पुगेका थिए । भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए ।
राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति जाजरकोट पुगेका थिए ।