काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक फेरि सारेको छ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको जानकारी गराएका छन्।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पुस २९, ३० र पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय गरेको थियो।
त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भएको थियो।
‘राष्ट्रिय मेलमिलाप दिवस पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठक तोकिएको छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘ललितपुरको गोदावरीस्थित हलमा बैठक हुन्छ।’
कांग्रेसले नीति अधिवेशनको समेत काम गर्ने गरी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लागेको हो।
कांग्रेसले ०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। त्यो महाधिवेशनमा नीतिबारे छलफल नै भएन, नेतृत्व मात्रै चयन गरिएको थियो।
विभिन्न जिल्लामा महासमिति सदस्य चयनका लागि अझै अधिवेशन भएका छैनन्। कांग्रेस निर्वाचन समितिले असोज २९ गतेभित्रै महासमिति सदस्य चयन गरिसक्न आग्रह गरेको थियो।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ५२ जिल्लामा महासमिति सदस्य चयन भइसकेका छन्।
‘कात्तिक २४ गतेसम्म ७० जिल्लाभन्दा बढीको महासमिति सदस्यको नामावली आइसक्छ,’ उनले भने, ‘भूकम्पका कारणले केही जिल्लामा अधिवेशन हुन सकेको छैन।’
मंसिर १० गतेभित्र सबै जिल्लामा महासमिति अधिवेशन भइसक्ने पनि मुख्यसचिव पौडेलले बताएका छन्।