जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्ण रूपमा र केही घर आशिंक रूपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् ।
खलङ्गाबाट डेढ घण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन् । यहाँका सबै घर ध्वस्त भइसकेका छन् । पीडित अविलाल विकले भने, हाम्रो यो गाउँमा अधिकांश दलित समुदाय बस्दै आएका थियौँ, वर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई अस्ति आएको भूकम्पले स्वाहा नै बनायो ।
अहिले यो टोलका सात सय व्यक्ति घरबारविहीन भएको उनले बताए । विकले भने, ुहामी घरबारविहीन भयौँ आफन्त गुमायौँ, खानेकुरा घरमै पुरियो, लाउने कपडा पनि पुरियो, अस्तिदेखि भोकभोकै छौँ । केटाकेटी चिसोले हैरान भइसके ।ु
उनी जस्तै चोचे गाउँका सबै व्यक्तिको पीडा त्यस्तै छ । उनीहरूले अब आफन्त गुमाए पनि बाँचेकाका लागि गाँस र बाँसको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।
चोचे टोलमा भूकम्पमा परी १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।
मृत्यु हुनेमा पाँच बालबालिका, सात २० वर्ष माथिका र अन्य दुई जना ज्येष्ठ नागरिक रहेको प्रहरीले बताएको छ । तेह्र जनाको भूकम्पमा परी घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । मृत्यु भएका अधिकांश व्यक्ति भारतमा रोजगारीका लागि गएर फर्किएका थिए । उनीहरू तिहार मनाउन घर फर्किएकामा तिहार मनाउन नपाउँदै मृत्यु भयो ।
स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आएका थिइन् । चाडबाडमा रमाइलो गर्न गाउँ फर्किएकी उनको भूकम्पमा परी मृत्यु भयो । त्यसैगरी अन्य व्यक्ति पनि चाडबाडका लागि भारतबाट घर आएका थिए तर भूकम्पका कारण गाउँका सबै जनाको खुसी र हाँसो आँसुमा परिणत भएको छ ।
केही घरका त परिवारका सबै सदस्यको मृत्यु भएको छ । भिउसन कुमाइँको चार जनाको परिवारको भूकम्पमा परेर मृत्यु भएको छ । भूकम्पमा परेर मृत्यु भएका यो गाउँका १३ जनाको दाहसंस्कार हुनसमेत ढिलाई भएको थियो । उनीहरूलाई निकाल्न नै समय लागेकाले दाहसंस्कार आज गरिएको हो ।
यो गाउँका पीडितलाई राहत र पुनःस्थापनाका लागि कुनै कसर बाँकी नराख्ने कर्णाली प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ । रासस