जाजरकोट भूकम्पमा परी घाइतेको उपचारका लागि बाँकेका अस्पतालमा तयारी पूरा

जाजरकोट भूकम्पमा परी घाइतेको उपचारका लागि बाँकेका अस्पतालमा तयारी पूरा

नेपालगन्ज । जाजरकोट भूकम्पमा परी घाइते भएकालाई उपचारको व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्ससहितको टोलीले बिहान जाजरकोट र रुकुम पश्चिमबाट उपचारका लागि आउने बिरामीका लागि आवश्यक तयारी पूरा गरेका हुन् ।

भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ ।

पर्याप्त मात्रामा डाक्टर, नर्सिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । हेलिकप्टरबाट ल्याइने बिरामीका लागि रांझा विमानस्थल र सेनाको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

त्यस्तै रगतको पनि मौज्दात रहेको र अभाव भएमा रक्तदाताका रूपमा सुरक्षाकर्मी उपलब्ध हुने पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।


यसैबीच जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि नेपालगन्ज ल्याइएको छ । जाजरकोट सदरमुकाम खलंगाबाट बिहान ३ बजे एम्बुलेन्समार्फत घाइतेलाई नेपालगन्ज ल्याइएको हो । । भेरी नगरपालिका–३ खलंगाका ४८ वर्षीय विमलकुमार कार्कीलाई उपचारका लागि नेपालगन्ज ल्याइएको हो । उनको दाहिने खुट्टा भाँचिएको छ ।

जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म सयभन्दा बढी जनाले ज्यान गुमाएका छन् । बाँकेमा भने भूकम्पले कुनै क्षति नपुर्‍याएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

खबरपाटी
खबरपाटी