आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । नेपाललाई तेस्रो र चौथो सफलता सफलता युवा अलराउन्डर गुलशन झाले दिलाए ।
उनले ७.१ ओभरमा आक्रामक ब्याटर रोहन रंगराजन र ७.५ ओभरमा अमर्त्य कौललाई आउट गरे । रंगराजनलाई आउट गर्नेक्रममा सन्दीप जोराले उत्कृष्ट क्याच पक्रिए ।
रोहनले ३० बलमा ९ चौका र एक छक्काको मद्दतमा ४६ रनको आक्रामक पारी खेले । अमर्त्य भने शून्यमै आउट भए । सिंगापुरको दोस्रो विकेट स्पिनर सन्दीप लामिछाने लिए । उनले ६.५ ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरे ।
नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्रा दत्तलाई शून्यमै बोल्ड गरेका थिए । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले यो समाचार तयार पार्दासम्म ९ ओभरमा ४ विकेट गुमाएर ६३ रन बनाएको छ ।
नेपाल र सिंगापुरबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपाल सिंगापुरविरुद्ध सहज जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गर्ने सोचमा छ । सिंगापुर घरेलु टोली नेपाललाई स्तब्ध पार्ने दाउमा छ ।
टी–२० क्रिकेटमा विगत प्रदर्शन हेर्दा दुवै टिमले एकरएक खेल जितेका छन् । नेपाल र सिंगापुरबीचको दुई खेल भने वर्षाले प्रभावित भएको छ ।