कोशी प्रदेशको मन्त्रिपरिषद् बिस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ । सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।
माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए । उनले सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा बस्न नसक्ने अडान पनि आफूले बैठकमा राखेको बताए ।
प्रमुख सचेतक भण्डारीले भने, ‘माओवादी, जसपा, एकीकृत समाजवादी तीनवटालाई सामेल गर्ने अनि हामी पनि त्यही बस्ने कुराचाहिँ हामीले हुँदैन भनेका छौँ । अब त्यसमध्ये कुनै एउटा थप्नैपर्ने परिस्थिति भयो । सहमति भयो हाम्रो कांग्रेस र एमालेको बीचमा भने । कुनै एउटा थपिन पनि सक्ला ।’
यता, कांग्रेसले पनि गठबन्धनभित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी कांग्रेस सांसद शमशेर राईले जानकारी दिए ।
एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।