कर्णालीमा लागूऔषधविरुद्ध लालटिन अभियान

कर्णालीमा लागूऔषधविरुद्ध लालटिन अभियान

वीरेन्द्रनगर । कर्णाली प्रदेश प्रहरी कार्यालयले लागूऔषध विरुद्ध लालटिन अभियान सुरु गरेको छ। पछिल्लो समय कर्णालीमा बढ्दै गएको लागूऔषध दुर्व्यसनलाई न्यूनीकरण गर्न यो अभियान सुरु गरिएको हो। 


कर्णाली प्रहरीले सुरुवात गरेको सुरक्षित कर्णाली विशेष अभियानअन्तर्गत कर्णालीलाई लागूऔषध दुर्व्यसनमुक्त प्रदेश बनाउन प्रहरीले लालटिन अभियान सुरु गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले बताए। 

उनले भने, नेपालमा लागूऔषधको प्रभाव दिनदिनै विकराल बन्दै गइरहेको छ। यसबाट कर्णाली प्रदेश पनि प्रभावित छ। यसले विशेषतस् समाजमा युवा वर्गलाई शारीरिक र मानसिक रूपमै बिक्रित तुल्याएर देशको विकास र समृद्धिका लागि परिचालित हुनुपर्ने ऊर्जा शक्ति कमजोर बनाउँदै लगेको छ।ु 

तथ्यांकहरू विश्लेषण गर्दा विगत तीन वर्षमा लागूऔषध सम्बन्धी अपराधहरू बढिरहेको छ। कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७र०७८ मा ७०, २०७८/०७९ मा ९५, २०७९/०८० मा १ सय १४ वटा मुद्दा दर्ता भएका छन्। 

प्रत्यक वर्ष १ सय ३३, १ सय ७२ र २ सय १५ जना मानिस पक्राउ परी कानुनी दायरामा ल्याइएका छन्। लागूऔषधमा लागेको उमेर समूह हेर्दा सबैभन्दा धेरै १६-२६ वर्ष भित्रका युवाहरू छन्। त्यसैगरी विगत वर्षहरूलाई हेर्दा कर्णालीमा लागूऔषध प्रयोगकर्ता १ हजार ७ सय ६८ पुरूष र ४३ महिला छन्। 

प्रहरीले नियमित रूपमा धेरै मात्रामा गाँजा, चरेश, अफिम , हेरोइन, ब्राउन सुगर, ट्याबलेट, कोनिन, कोरेक्स लगायतका लागूऔषधहरू बरामद पनि गरिरहेको छ। आव ०७९/०८० मा मात्र १ हजार ५ सय ८५ रोपनी गाँजा र ५ सय ३० रोपनी अफिम खेती नष्ट गरिएको छ। 

कर्णाली प्रदेशमा प्रत्येक वर्ष लागूऔषध समस्या बढिरहेको छ। कर्णाली प्रदेशमा विशेष गरी सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा, दैलेखको नारायणणी र दुल्लु, सल्यानको शारदानगर, जाजरकोटको भेरी, रुकुमको मुसिकोट र चौरजहारी, कालिकोटको खाँडाचक्र र तिलागुफा, जुम्लाको चन्दनाथ, मुगुको छाँयानाथ रारा नगरपालिकाहरूमा लागूऔषध कारोबार र प्रयोग बढी भएको अवस्था छ।

यस अभियानको सफल कार्यान्वयनका लागि कार्ययोजना पनि बनाइएको छ। कर्णालीका दश वटै जिल्लामा जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा, सदरमुकाम स्थित स्थानिय सरोकारवालाहरू सदस्य रहने गरी जिल्ला लालटिन समन्वय डेस्क, स्थानीय तहका प्रमुखको संयोजकत्वमा स्थानीय तहका सरोकारवालाहरू सदस्य रहने गरी पालिकास्तरीय लालटिन समूह गठन, सम्बन्धित वडाका वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय लालटिन समूह गठन गर्ने प्रहरीले जनाएको छ। जसले जिल्ला, पालिका र वडा हुँदै टोलसम्मलाई लागूऔषध मुक्त बनाउने पहल लिनेछ। 
       

खबरपाटी
खबरपाटी