नेकपा एमाले गण्डकीमा नेतृत्व चयनका लागि मतदान जारी

नेकपा एमाले गण्डकीमा नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । नेकपा (एमाले ) गण्डकीमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ। बिहान ११ः५५ बजेदेखि मतदान सुरू भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए।

३३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। मतदानको समय साँझ ५ः३० बजेसम्मलाई निर्धारण गरिएको र आजै नतिजा आउने उनले बताए।

एमाले गण्डकी प्रदेश अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेको निर्वाचन समितिले बताएको छ।

बुधबार बिहान उम्मेदवारी दर्ताको समय तोकिएको थियो। गण्डकी प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।

५ पदाधिकारीमा १० जनाको उम्मेदवारी कायम रहेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए। अहिले  २ सय ७७ जनाको उम्मेदवारी कायम रहेको छ। ३१ जना सदस्य निर्विरोध निर्वाचित भइरसकेका छन्।

एमाले गण्डकी प्रदेशको आगामी नेतृत्वका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टछुट्टै प्यानल खडा भएको छ।

उपमहासचिव गुरूङले बनाएको प्यानलबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मालाई अघि सारिएको छ। उनी निवर्तमान अध्यक्ष पनि हुन्।

उपाध्यक्षमा स्याङ्जाका मीनबहादुर गुरूङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिक रहेका छन्।

लेखा आयोग प्रमुखमा नवलपुरका अमृत ज्ञवाली र उपाध्यक्षमा गोरखाका गिरिधारी बास्कोटा र सचिवमा बाग्लुङका वीरबहादुर बिकलाई अघि सारिएको छ।

अधिकारी समूहले अध्यक्षमा लमजुङका मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मी आचार्यलाई अघि सारेका छन्। उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरूङ उम्मेदवार छन्।

रावलले युवा संघको अध्यक्षमा क्षितिज थेवेसँग प्रतिस्पर्धा गर्न खोजेका थिए। तर नेतृत्वले थेवेलाई सर्वसम्मत गरेपछि युवा संघमा चुनाव नै भएन। गुरूङ उपमहासचिव रिमाल पक्षधर हुन्।

यसअघि लुम्बिनी, बागमती र कर्णाली प्रदेशमा अधिवेशन सकिइसकेको छ। लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल र कर्णालीमा गुलाबजंग शाह र कोशीमा घनश्याम खतिवडा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन्। यसपछि उपत्यका विशेष, सुदूरपश्चिम र मधेस प्रदेशमा अधिवेशन हुने छन्।

नेकपा (एमाले)ले संगठन सुदृढीकरण अभियानअन्तर्गत तहगत कमिटीहरूका अधिवेशन गरिरहेको हो। एमालेले २०८० लाई अधिवेशनको वर्ष मानेको छ। र, यही वर्षभित्र पालिका र जिल्ला अधिवेशनहरू गरिसक्ने बताएको छ।

खबरपाटी
खबरपाटी