एमाले बागमती अधिवेशनः कुन पदमा कसको उम्मेदवारी?(सूची)

एमाले बागमती अधिवेशनः कुन पदमा कसको उम्मेदवारी?(सूची)

नेकपा एमालेले आज बागमती प्रदेशको नेतृत्व टुंगो लगाउँदै छ।

बिहीबार अबेरसम्म  सर्वसम्मतीको प्रयास भएपनि सहमति जुट्न नसकेपछि एमालेले अन्ततः बागमतीमा पनि निर्वाचनबाटै नेतृत्व टुंगो लगाउने भएको हो।

सर्वसम्मतीका लागि तीन पटकसम्म निर्वाचन कार्यतालिका संसोधन गरिएको थियो। संसोधित कार्यतालिकामा आज बिहान ८ बजेदेखि मतदान सुरू हुने उल्लेख छ।

एमालेले बिहीबार राति नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ।

जसअनुसार नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुने भएको छ। यसअघि पाँच जनाले प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएका थिए।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए। त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए।

सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्। पाण्डेले ढुंगेललाई र श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्दै फिर्ता लिएको बताइएको छ।

बागमती प्रदेशमा चुनाव नै हुने भएपछि नेताहरू पनि बाँडिएका छन्। कैलाश ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य आनन्द पोखरेललगायतको समर्थन छ।

त्यस्तै कृष्ण दाहालको पक्षमा पदाधिकारी तहका नेताहरू खुलिसकेका छैनन्। यद्यपि, सुरेन्द्र पाण्डेलगायत नेताहरूको समर्थन देखिएको छ। पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा खुलेरै लागेका छन्।

त्यस्तै उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद  खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्।

एक सचिव पदका लागि नवराज सिलवाल र हस्त बहादुर पण्डित उम्मेदवार छन् भने दुई उपसचिवका लागि ओमराज पन्त ९अच्युत०, कृष्णहरि थापा, खड्ग बहादुर पुलामी, टासी लामा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल छन्।

एमालेमा प्यानल बनाउन निषेध भए पनि मत आफ्नो पक्षमा पार्न अध्यक्षमा प्रत्यासी दाहाल र ढुंगेलले भित्रभित्रै उपाध्यक्ष, सचिव र उपसचिवमा समर्थन गरेर भोट मागिरहेका छन्।

खबरपाटी
खबरपाटी