नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको बताएका छन्।
संविधान दिवसको सन्दर्भमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताएका हुन्।
‘हामी नेपाल सचेत र सजग रहनुपर्छ। हाम्रा उद्देश्य, कर्तव्य र हाम्रो एकतालाई बिर्सन र कमजोर बनाउन दिनुहुँदैन,’ उनले भने, ‘हाम्रो संविधान राष्ट्रिय एकता र सबलताको संविधान हो। जनताका लागि जनताले बनाएको संविधान हो। कहीँ कतै हाम्रा उपलब्धीहरूलाई समाप्त पार्न खोज्ने, या त अभिव्यक्तिबाट, या ता क्रियाकलापबाट, यस्ता प्रयासहरू भइरहेको छ।’
जुनसुकै नाम, आवरणको भए पनि राष्ट्रिय एकतालाई खल्बल्याउने खालका विचारहरू सकारात्मक कुरा हुन नसक्ने उनको भनाइ थियो।
‘विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्याउने प्रवृत्तिहरू अनेकौं प्रकारका क्षेत्रीयतावादी, साम्प्रदायिक, जातीयतावादी, राजनीतिक नाममा हुने, गरिने त्यस्ता उच्छृङ्खल गतिविधिहरू राष्ट्रिय एकताको पक्षधर हुन सक्दैनन्,’ उनले भने।
राष्ट्रिय एकताको भावनालाई क्षीण बनाउने गतिविधि हुँदा सरकारले देखावटी कुरा गर्नु नहुने उनको जोड छ। सरकारले भित्र एउटा, बाहिर अर्को कुरा गर्दा राष्ट्रिय एकताको भावनालाई कमजोर बनाउने उनले बताए।
संविधान दिवसको अवसरमा जनस्तरबाट कार्यक्रम आयोजना गरेको एमालेले बताएको छ।